Sunday, June 28, 2020

म चाउरी पर्ने थालेको धेरै भएको छैन।

म चाउरी पर्ने थालेको धेरै भएको छैन। 
(सिक्किमको बाँझिएको जमिनको सन्दर्भमा-
सागरमणि ढकाल-28.12.2018)

खानको लागि नुन मात्र किन्ने र अरु सबै आफै फलाउने महान किसानहरुका सन्तानले
मेरो छाती भरि केहि नगरी बुगुन्द्रै फ्ल्ने 
सिमल तरुल र पिँडालु समेत नरोपेर 
किन्न थालेपछि
म चाउरी पर्ने थालेकी हुँ।। 

पुर्वज किसानहरुले फलाँउले
अट्टे, स्यालमुखे, झपकाहरु 
थाहै नपाइ आसियाना, के.आर.टी,  मोहन भोग र  सर भोग भएपछि
म चाउरी पर्न थालेकी हुँ। ।

कोलमा पिनेर मग मग बासना आउने तोरीको तेल त्यसै एक बटुका पिएर पचाइदिने 
बलशाली किसानका सन्तानहरुले 
सफोला गोल्ड र धारामा भुटुन पडकाँउन थालेपछि 
म चाउरी पर्न थालेकी हुँ।। 

फारसमा गाई भैँसी चराएर 
बेलुका भात पकाउन अल्छी लाग्दा
एक माना चामललाई तिन किलो दुधमा पकाएर
एकलै सर्ल्याम-सर्ल्याम खाएर पचाइदिने 
किसानका सन्तानहरुले 
पुजामा समेत अमुल गोल्डले बनिएको खिर 
चढाँउन थालेपछि 
म चाउरी पर्न थालेकी हुँ।। 

गाईको मलले बारी नै कालो बनाएर, जोतेर
कोदो, फापर, मकै, गहुँ छरेर
ढिडो अनि रोटी- दुध, दहि, मोइ, घिउ संग 
गम गम खाने किसानहरुका सन्तानले 
कोर्न फ्लेक्स र प्याकेटको दुध खाँदा पनि 
पखाला चल्न थालेपछि 
म चाउरी पर्न थालेकी हुँ।। 

ब्याँसी खेतमा असारमा जहिले नै मेला सरह हुन्थ्यो, 
त्यहि खेतमा 200-300 मुरी धान फलाउने कर्मशिल किसानका सन्तानहरुले 
त्यहि बाझो, चिरा परेको खेतमा आयोजना गरिएको 
"ब्याँसि विन्टर कार्निभलमा" 
सिलिगुडीको एल एस चामलबाट बनिएको भाती जाँडलाई 
"ओरगेनिक राइस वाइन" भनेर खान थालेपछि 
म चाउरी पर्न थालेकी हुँ।। 

उद्धमशिल किसानका सनतानहरु 
बजार कुर्न थालेपछि 
ढिकुटीमा धान नभरेर 
औषधिको खोलमा औषधि भर्न थालेपछि 
अन्न कोषलाई सम्पति नमानेर 
धनराशिलाई सम्पति ठान्न थालेपछि 
म चाउरी पर्ने थालेकी हुँ।। 

तरै पनि कुरेर बसिरहेकी छु
कुनै पाखुरा आउँछन् होला कोट्याउन कुनैदिन 
सुर्ता नगर!! 
निषठुरि हुने छैन म
तिम्रो स्पर्शले नै म
पगलिने छु मलिलो भएर, 
फेरि उरवराउ हुनेछु, जवान भएर।।

No comments:

Post a Comment