Sunday, June 28, 2020

मेरो भगवान् माँसिएछ

मेरो भगवान् माँसिएछ
(सागरमणि ढकाल 9.02.18) 

मात्तिएछ मस्तिष्क आज
मन पनि धमिलो भएछ।
यदि मानिसमा नै भगवान् हुन्छन् भनें
मेरो भगवान् माँसिएछ॥

ईर्ष्याले सबै छोपेछ 
त्यो माँया गर्ने मनलाई ।
मानिस मानिसमा घृणा बढेछ
लडाई गर्छन मर्नलाई॥

लाट्टिएछ मस्तिष्क आज
मन पनि अमिलो भएछ।
यदि मानिसमा नै भगवान् हुन्छन भनें
मेरो भगवान् माँसिएछ॥

लोभले सम्पुर्ण पुरेछ 
उदार पवित्र हृदयलाई।
मोह सम्पत्तिको धेरै बढेछ
लढ्छन हेर दाजु भाई ॥

भौंतारिएछ मस्तिष्क आज
मन पनि कलिलो भएछ ।
यदि मानिसमा नै भगवान् हुन्छन् भनें
मेरो भगवान् माँसिएछ॥

रागले सबै समेटेछ
दानवीर यी हातलाई ।
भोग विलास असंख्य बढेछ
छली खान्छन् नडराई ॥

अल्मलिएछ मस्तिष्क आज
मन पनि सजिलो भएछ ।
यदि मानिसमा नै भगवान् हुन्छन भनें
मेरो भगवान् माँसिएछ॥

चेलिबेटी चिन्न छोडेछ
कुकर्मी भएछन् आफन्त नै
हत्या बलात्कार गर्ने भए
आफ्नै काका दाजु भाई।

भ्रष्ट भएछ सोचाई आज
समाज नै धमिलो भएछ 
यदि मानिसमा नै भगवान् हुन्छन् भने 
मेरो भगवान् माँसिएछ॥

No comments:

Post a Comment