Sunday, June 28, 2020

म आफ्नो मृत्यु निमत्याउँदैछु

म आफ्नो मृत्यु निमत्याउँदैछु
(सागरमणि ढकाल - 27.03.2020)

आ!!!बेकारको कुरा हरु 
कहाँ जाउँ? के गरौं? भन्दै 
अट्टेरी गर्दै सरकारी अध्यादेशहरुको 
म आफ्नो मात्र नभएर 
सबैको मृत्यु निमत्याउँदैछु॥ 

अरुबेला दुध लिन जान अल्छी लाग्ने मलाई 
ब्लेक टि कहिले नखाएको सरह 
म दुधको चिया नखाए मर्छु होला भन्दै 
दोकानमा भिड गरेर 
म आफ्नो मात्र नभएर 
सबैको मृत्यु निमत्याउँदैछु॥

घरमा दुई तिन महिना चल्ने सिलिण्डर 
हुँदा हुँदै 
गोदाममा छ महिना देखि लडिरहेको 
सिलिन्डर भर्न 
लाइनमा बसेर 
म आफ्नो मात्र नभएर 
सबैको मृत्यु निमत्याउँदैछु॥

भात र सुक्खा सब्जीले टन्न भुँडी भर्ने म
अल्छी लाग्दा वाई वाई र मेग्गी धोकेर सुत्ने 
आज सिबीको दाल खोज्दै बजार बजार घुमेर 
भिड बढाउँदै 
म आफ्नो मात्र नभएर 
सबैको मृत्यु निमत्याउँदैछु॥

महिनामा एक दुई पटक माछा मासु खाने 
आज खसीको माँसु नखाए 
भुँडी फुट्छ होला सोच्दै 
म दशै सरह माँसु खोज्दै 
भिड बढाउदै 
म आफ्नो मात्र नभएर 
सबैको मृत्यु निमत्याउँदैछु॥

क्यै कारण नै नभै CL लेखेर 
घरमा टि भी हेर्दै सुत्ने म
आज, यसरी कसरी संसार चल्छ भनेर 
नेता सरह मान्छे उचाल्दै 
म आफ्नो मात्र नभएर 
सबैको मृत्यु निमत्याउँदैछु॥

No comments:

Post a Comment