Sunday, June 28, 2020

म आफ्नो मृत्यु निमत्याउँदैछु

म आफ्नो मृत्यु निमत्याउँदैछु
(सागरमणि ढकाल - 27.03.2020)

आ!!!बेकारको कुरा हरु 
कहाँ जाउँ? के गरौं? भन्दै 
अट्टेरी गर्दै सरकारी अध्यादेशहरुको 
म आफ्नो मात्र नभएर 
सबैको मृत्यु निमत्याउँदैछु॥ 

अरुबेला दुध लिन जान अल्छी लाग्ने मलाई 
ब्लेक टि कहिले नखाएको सरह 
म दुधको चिया नखाए मर्छु होला भन्दै 
दोकानमा भिड गरेर 
म आफ्नो मात्र नभएर 
सबैको मृत्यु निमत्याउँदैछु॥

घरमा दुई तिन महिना चल्ने सिलिण्डर 
हुँदा हुँदै 
गोदाममा छ महिना देखि लडिरहेको 
सिलिन्डर भर्न 
लाइनमा बसेर 
म आफ्नो मात्र नभएर 
सबैको मृत्यु निमत्याउँदैछु॥

भात र सुक्खा सब्जीले टन्न भुँडी भर्ने म
अल्छी लाग्दा वाई वाई र मेग्गी धोकेर सुत्ने 
आज सिबीको दाल खोज्दै बजार बजार घुमेर 
भिड बढाउँदै 
म आफ्नो मात्र नभएर 
सबैको मृत्यु निमत्याउँदैछु॥

महिनामा एक दुई पटक माछा मासु खाने 
आज खसीको माँसु नखाए 
भुँडी फुट्छ होला सोच्दै 
म दशै सरह माँसु खोज्दै 
भिड बढाउदै 
म आफ्नो मात्र नभएर 
सबैको मृत्यु निमत्याउँदैछु॥

क्यै कारण नै नभै CL लेखेर 
घरमा टि भी हेर्दै सुत्ने म
आज, यसरी कसरी संसार चल्छ भनेर 
नेता सरह मान्छे उचाल्दै 
म आफ्नो मात्र नभएर 
सबैको मृत्यु निमत्याउँदैछु॥

मृत्युलाई नबोलाउ

मृत्युलाई नबोलाउ
(सागरमणि ढकाल - 30.03.2020)

अट्टेरी गरि डुलिरहेछौ वर पर
अमर हुँ सोची किन?
हाँस्छौ त्रासित मान्छे ‌देखि हर पल
सुरो छु सोची किन?

लडिरहेछन हजार भगवानहरु रणमा
संसार जोगाँउन।
किन तम्सिन्छौ बाहिर निस्की सुरो भै 
मृत्युलाई बोलाँउन ॥

टाडा आफ्ना देवताहरु घरमा, उनि
भगवान झै लडदछन ।
जोगाँउन तिमीलाई अदृश्य सत्रुबाट
हर घडिमा मर्दछन॥

डाक्टर, नर्श, प्रहरी, भगवान सरि 
लडिरहेका छन् हेर ।
मेहनत तिनको, नटेरीले तिमीले 
किन हौ फाल्छौ खेर ॥

सफाई कर्मीहरु हेर दिनहुँ 
तिम्रै निम्ति खट्दछन्।
मरे बरु मरियोस भनि हर निमेष 
तिम्रै निम्ति डट्दछन ॥

किन बुझ्दैनौं ए मुर्खहरु हो 
घर भित्र बस्नु त हो। 
किन हतारिएको तिमी तिम्रै
मृत्यु बोलाँउन हो ?

मलाई ठिकै छ।

मलाई ठिकै छ। 
(सागरमणि ढकाल 25.05.2020)

तिम्रो असफलताको दोष, म माथी थोपदा, तिमीलाई शान्ति हुन्छ भने, मलाई ठिकै छ॥

तिम्रा गलत निर्णयहरुको फलहरु, मेरा ठाउँकोमा रोप्दा,  तिमीलाई आराम हुन्छ भने, मलाई ठिकै छ॥

तिम्रो असहजताको हड्कम, मलाई थोपर्दा, तिमीलाई सन्चो हुन्छ भने 
मलाई ठिकै छ॥

मलाई दोष्याउदा, तिमीले आफूले आफैलाई माफ गर्न सक्छौ भने, मलाई ठिकै छ॥

म तिम्रो लागी कहिले चम्चे भएँ, कहिले चम्काँउने भँए।
तिमीले म बाट, तिम्रा फायदाको निम्ति, राखेका अपेक्षाहरु पुरा नहुँदा 
म फाल्टु भएँ, तिम्रो द्वेष संवादको पात्र भएँ ।

बुता त तिम्रोमा छैन, अहम् जति नै विशाल भएपनि ।
कटु शब्दका शब्दकोश न हौ अरु के जान्यौं होला र बढि ॥

मुखबाट बोलेका शब्दहरुको मोल राख्न सक्दैनौ भने, बरु नबोल्। 
अर्काको भलो नचिताँउनेको भलो नै कहिले भयो र? 

कलि युग हो यो, कर्मको फल यहाँ निमेषमा नै पाइन्छ,
तिम्रो पिडा हेर्न भगवानले तिमीबाट प्रताडिएकालाई पठाउँछ॥

दिउँसो कटनी

दिउँसो कटनी ॥
(सागरमणि ढकाल-27.05.20)

जीवन यसरी नै त चल्नु रहेछ
रात परेसी सुत्नु, बिहान भएसी उठनु रहेछ। 

कसैले नसुति हुदैन, कसैले नउठी हुदैन

जन्मनु उठे सरह!!
मृत्यु सुते सरह!! 

त्यै दिउँसो गरिएको समय कटनी त जीवन रहेछ।

सानो छँदा पठन-पाठनमा दिउसो कटनी, 
बढदै जाँदा काम-परिवार मै दिउँसो कटनी।
बुढो हुँदै जाँदा आइया-आत्थामा दिउँसो कटनी।

अनि चिर निन्द्रामा सुत्छ शरिर फेरि उठ्नलाई 
दिउँसो कटाँउन॥

आइफोन 11 प्रो ( I Phone 11 Pro)

आइफोन 11 प्रो  ( I Phone 11 Pro) 
(सागरमणि ढकाल- 26.06.2020)

विदेशिएका आइफोन 11 प्रोहरुलाई
स्वदेशी माटोको महक कहाँ आँउछ र
मेनहेटन र टेक्सासको चहक महक
ओखरबोटेमा कहाँ पाइन्छ र॥

डालरले भिजेको दिमागलाई 
रुपियाँ जाबो के हो र
माइला फुपाजुको घरको ठेगाना 
"जि पि एसले" कसरी भन्थ्यो र ॥

खेताला धाँउने सोमे र गोब्रे 
सर्भेन्ट कहाँ हुन्थे र
घुँडा फाटेका पैन्टहरु 
जारा( Zara)  किन हुन्थ्यो र ॥

सहयोग आफन्तको च्यारिटी भएसी 
परिवार कहाँ बन्थ्यो र 
सदस्य- कर्मचारी सरी भएसी
माँया किन बढ्थ्यो र॥

अघि "हेलो हाव आर यु" हाँसेर 
पछि कटुशब्दले डिक्सनेरी भरेछ
आई फोन 11 प्रोको संस्कारले 
प्रेमको स्क्रिन नै फुटेछ॥

कोरोनाले रोकिएका मलामीहरु

कोरोनाले रोकिएका मलामीहरु
(सागरमणि ढकाल -27.06.2020)

कोरोनाले रोकिएका मलामीहरु 
भुटुवा र रक्सी धोक्दैछन् ।
आइ एम सरी फर यर लस भनेर 
नजिकिन खोज्दैछन् ॥

मुखटो लगाएको व्यक्तित्वमा 
अझ मास्क पनि थप्दैछन ।
कोरोनाले रोकिएका मलामीहरु
करावके(Karaoke)  गाउँदै रम्दैछन्॥

लिफामा सजिएका संवेदनाहरु 
कोरियर सरह पुग्दैछन ।
कोरोनाले रोकिएका मलामीहरु 
आफ्नो ढ्वांगको रिण तिर्दैछन्॥

कोरोनाले रोकिएका मलामीहरु 
लम्पसार अोच्छयानमा सुत्दैछन्।
प्रोटोकोलको बाहनामा बरु
दुइ चार हात खेल्न खोज्दैछन् ॥

साहित्य माफिया

साहित्य माफिया
(सागरमणि ढकाल 28.06.2020)

साहित्य धनि नभएर 
धनाढ्यको साहित्य भएछ।
बलिहुडको फ्लिमफेर सरह
अवार्डमै सिमित रहेछ॥

सम, पौडेल, देवकोटाका ति रचना
छुने गर्थे मनको अन्तहमा।
जाबो उम्रिन्दैको तिनपाते नव युवाका सोच र लेखहरु
दर्हो भएछ यो साहित्य माफियाका गुठहरु॥

चयन गर्ने उनै, आलोचना, समालोचना गर्ने उनै 
सम्मान उनकै, सम्मानित उनकै 
पैसा उनकै, छापाखानाका सम्पादक उनैकै।

गाँउका पुराना ताकमा राखिएका
रोले खाताका बिचमा कोरिएका अमृतहरु
त्यसै त माउले खाएको होइन होला ॥

किन गाँउछन होला अझै बुढापाका भानुका रामायणका श्लोकहरु?
किन अझै दिन्छन उपदेशस्वरुप पौडेलका पंक्तिहरु?
रस पान गरे थिए साहित्यको कुनै समय
गोठमा बसी
बाँधिन सकेन साहित्य ठुला बढाका बुकसेल्फका 
मेमोवर(Memoir) बनि॥

हुन त पाठक नै घटेर गइसकेपछि 
पढने इच्छा नै मानिसको मरिसकेपछि 
मातृ भाषा नै पोली खाएपछि 
को भिडने स्वज्ञानी माफिया संग अघि सरि॥

अरुका जस्ता बेस्ट सेलर
हाम्रो पनि भैदिए
पढ्ने पाठकको जमात राम्रो भैदिए 
टारी खेतमा रचिएका साहित्यहरु
आज विश्वकै पुस्ताकालयहरुमा अदभ संग सजिएका हुने थिए
पुराना भानुभक्त, पौडेल, देवकोटाहरुलाई इतिहासमा पढेर 
नव भानुहरु पाठ्यक्रममा उदाउने थिए। 

संगठन उनकै, केहि ठुला पाठक उनकै
नेपाल, बर्मा, आसाम, दाजिलिङ उनकै
 सिक्किम, अरुणाचल, सिलाङ उनकै 

टिस्टे, फिस्टे, सानोभाई ठुलोभाईका
कलामृतहरु आफ्नो जीवनको कमाई लगाएर गुम्सिएका छन् साना पुस्तकहरू मा 
कतै धुलो लागेर लडिरह्यो 
कागज-बोतलवाला ले लगिरह्यो ।

मेरो सिर्हानीमा एउटा प्रतिलिपि त छ
त्यो संघर्षको याद दिलाँउन 
एसो पल्टाएर हेर्छु
मैले लेखे जस्तै लाग्दैन 
बिर्सेछु कि हो शब्द बुन्न 
बिर्सेछुकी मैले साहित्य गुन्न। 

साहित्यका माफियाहरु जता ततै रगरगी
मेरो पो पत्ता काटिन्छ कि भनि डरसरी 
धुलो नै लाग्दैछन् ति मा पनि सायद पानी पुगेन 
साहित्य पार्ने सायद त्यो मधानी नै भएन।